Dark Mode

      Subscribe

‘ठूला नेतृत्वमा सरकार बनेसँगै देश स्थिरता र सुशासनको बाटोमा’

910
SHARES
‘ठूला नेतृत्वमा सरकार बनेसँगै देश स्थिरता र सुशासनको बाटोमा’

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले विकासका नाममा स्टन्ट गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताए ।

उनले भने, ‘विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए, तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौं । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नुपर्दैन ।’प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरु अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए ।

कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताए । उनले भने, ‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानून ल्याएका छौं । भूमिसम्बन्धी कानून पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ । भूमिहीन सुकुमबासीहरुका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानून ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौं ।’

प्रधानमन्त्री ओलीले एमालेविनाको नेपालको सपना देख्नेहरुको देशद्रोही सपना पूरा नहुने बताए। उनले भने, ‘एमाले झन् ठूलो र विजयी भएर आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।’एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवाहरु त्यस दिन काठमाडौं आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे ।

उनले भने, ‘एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौं । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन । युवाहरुले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’



nationalnews7 nationalnews7   
  • April 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP