Dark Mode

      Subscribe

मध्यरातमा लुटपाट मच्चाउने समूह कस्तो ?

130
SHARES
मध्यरातमा लुटपाट मच्चाउने समूह कस्तो ?

काठमाडौं । पछिल्ला तीन महिनायता काठमाडौँ उपत्यकामा लुटपाटका घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गरेको छ। सोही क्रममा काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट गर्दै आएको विनय तामाङ नेतृत्वको समूहलाई प्रहरीले मूलपानीबाट नियन्त्रणमा लिएको हो।

बुधबार साँझदेखि बिहीबार बिहान ३ बजेसम्म चलेको विशेष अपरेसनका क्रममा प्रहरीले चेकपोइन्ट तोड्दै प्रहरीमाथि जाइलाग्न खोजेपछि गोली प्रहार गरी समूहलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार गोली लागेका एक सदस्यको उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी समूहका नाइके काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय तामाङसहित १० जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सलोन तामाङ, राजीव भण्डारी, पेमा तामाङ, आयन माझी, सविन माझी, मनिस रसाइली, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।

प्रहरीले उनीहरूका साथबाट बा १२ च ७७०१ नम्बरको कार, बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी र ६ थान मोटरसाइकल बरामद गरेको छ। सिसीटिभी फुटेजको आधारमा उनीहरूलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त समूहले मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म सर्वसाधारणलाई कुटपिट गर्दै सुनका गरगहना र नगद लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरू तीन–तीन जनाको समूह बनाएर मोटरसाइकलमा घुम्ने, दिउँसो ट्याक्सी चलाउने र ‘रेकी’ गर्ने तथा राति एकै ठाउँमा भेला भएर लुटपाटमा निस्कने गरेका थिए।

लुटपाटपछि पुनः ट्याक्सी वा निजी सवारी प्रयोग गरी सामान्य दैनिकीमा फर्कने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीबाट जोगिन मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने बनाइने गरिएको थियो।

प्रहरीका अनुसार विनय तामाङ यसअघि २०७९ मा चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको पाइएको छ। आयन माझीविरुद्ध २०७९ पुस २६ गते भक्तपुरमा डाँका चोरी मुद्दा दर्ता भएको थियो। अधिकांश पक्राउ परेकाको आपराधिक पृष्ठभूमि रहेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।

उक्त समूहले स्वयम्भूमा ७, बूढानीलकण्ठ, बौद्ध र गौशालामा तीन–तीन तथा भक्तपुरको ठिमीमा १३ वटा लुटपाटका घटना गराएको प्रहरीको भनाइ छ। गएराति पनि समूह मूलपानी क्षेत्रमा लुटपाटको योजना बनाउँदै निस्किएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



nationalnews7 nationalnews7   
  • January 29, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP