Dark Mode

      Subscribe

साताको अन्तिम कारोबार दिन विहीबार पनि नेप्सेमा गिरावट

1.6K
SHARES
साताको अन्तिम कारोबार दिन विहीबार पनि नेप्सेमा गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९६ वटा स्क्रिप्टको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्था बारे नकारात्मक समाचार फैलिएको छ । सेयर बजारमा यो समूहको हिस्सा ठूलो भएकाले यो समूहमा दबाब पर्दा समग्र बजारनै प्रभावित बनेको छ ।’

उनले ठूला बैंकहरुको वासलात र नगद प्रवाह जस्ता वित्तीय विवरण शंकाको घरेमा भएको बताए । लगानीकर्ताका लागि ढुक्कले लगानी गर्ने अवस्था समेत नभएको र समग्र अर्थतन्त्रमा सुधार नहुँदा कम्पनीहरुको व्यवसाय बढ्न नसक्दा त्यसको प्रभाव सेयर बजारमा परेको गजुरेलले बताए । ‘ पुस मसान्तको दबाब सकिएसँगै आगामी साता बजार सामान्य बढ्न सक्ने देखिन्छ,’ उनले भने ।

अर्का बजार जानकार सरोज भट्टराईले पुस र माघ सेयर बजारका लागि अफ–सिजन भएकाले बजारमा हिजोआज खासै ठूलो अंकको वृद्धि नदेखिएको बताए । ‘सरकार परिवर्तनको हल्लाले समेत बजार प्रभावित बनेको छ । अस्थिर सरकारको अफवाहका कारण बजारमा ठूला लगानीकर्ताको प्रवेश देखिदैछ । जसका कारण बजारमा दिगोपन आउन सकेको छैन ।

बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा राम्रा कम्पनीमा आकर्षण कम देखिएकाले बजार बढ्न नसकेको उनले बताए । उनले भने,‘लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामै छन् । केही समयसम्म बजार यस्ता सामान्य उतारचढाव देखिन पनि सक्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज २.०३ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह आज ०.०७ प्रतिशत,म्युचुअल फण्ड ०.६८ र अन्य ०.३२ प्रतिशतले बढ्यो । फाइनान्स समूहमा भने आज सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७४ प्रतिशत,विकास बैंक ०.८८,होटल ०.२२,लगानी ०.५८,जीवन बीमा ०.६१, लघुवित्त ०.५५ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो ।



nationalnews7 nationalnews7   
  • January 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP