Dark Mode

      Subscribe

उपलब्धि पठाउन वा राजीनामा दिन सङ्घीय कर्मचारीलाई ट्रम्प प्रशासनकाे निर्देशन

1.2K
SHARES
उपलब्धि पठाउन वा राजीनामा दिन सङ्घीय कर्मचारीलाई ट्रम्प प्रशासनकाे निर्देशन

वासिङटन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू पठाउन वा राजीनामा दिन निर्देशन दिएको छ । एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ । मस्कले कर्मचारीको अघिल्लो हप्ताको प्रगति बुझाउनका लागि चाँडै इमेल पठाउने भनेर सामाजिक सञ्जाल एक्समा लेखेको केहीबेरमा कर्मचारीहरूले इमेल पाएका हुन् । मस्कले उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइने उल्लेख गर्नुभएको छ ।

मस्कले सरकारी खर्च कटौतीका लागि कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आउनुभएको छ । कर्मचारीहरूलाई पठाएको इमेलमा ५ वटा बुँदामा गएको हप्ता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।यसैबीच सङ्घीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी युनियनले इमेल पठाउने कामलाई क्रूर र अनादरपूर्ण भनेर आलोचना गरेको छ । युनियनका अध्यक्ष एभरेट केलीले विज्ञप्ति निकालेर मस्क र ट्रम्पले सङ्घीय कर्मचारी र उनीहरूको सेवालाई अवहेलना गरेको उल्लेख गर्नुभएको छ ।

अर्बपति मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग आधिकारिक सरकारी निकाय होइन । तर ह्वाइट हाउसको स्वीकृतिमा अमेरिकी सङ्घीय पूर्वाधारहरूमा व्यापक परिवर्तनहरू गरिरहेको छ । आन्तरिक राजस्व सेवा, पेन्टागन र सङ्घीय उड्डयन प्रशासनलगायतका अन्य कैयौं निकायहरूबाट हजारौं सरकारी कर्मचारीलाई बर्खास्त गरिसकेको छ ।मस्कले सन् २०२२ मा ट्विटर (अहिलेकाे एक्स) किनेपछि कर्मचारीहरूलाई गरेको जस्तै व्यवहार अहिले अमेरिकाका सङ्घीय कर्मचारीहरूलाई भइरहेको बीबीसीले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • February 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP