Dark Mode

      Subscribe

भेनेजुएलामा केही समय अमेरिकी शासन, किन पक्राउ परे राष्ट्रपति मदुरो ?

221
SHARES
भेनेजुएलामा केही समय अमेरिकी शासन, किन पक्राउ परे राष्ट्रपति मदुरो ?

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइ हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पत्तिलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ । उनले ग्रे रंगको ट्र्याकसुट लगाएको र कानमा हेडफोन राखेको देखिन्छ । साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ । उनीहरुमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ । अमेरिकी अटर्नी जनरल पामेला बन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन र खतरनाक उपकरण राख्ने तथा त्यसमा षड्यन्त्र गरेको अभियोग छ ।’ उनले थप लेखेकी छन्, ‘उनले चाँडै अमेरिकी भूमिमा अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्नेछन् ।’ तर मादुरोकी पत्नीमाथि कुन आरोप लाग्ने भन्ने खुलाइएको छैन ।

मादुराेलाइ क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्‍याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बीबीसीले उल्लेख गरेको छ । समग्रमा राष्ट्रपति मदुरो पक्राउ परेदेखि अमेरिकामा अवतरण गरेसम्म २ हजार १ सय माइल अर्थात् ३ हजार ३ सय किलोमिटरको यात्रा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गरेका थिए । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा उहाँ र उहाँकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।

केही देशले गरे निन्दा 

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको रूस, चीन, कोलम्बिया लगायत देशले निन्दा गरेका छन् । रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले वेनेजुएलामाथि सशस्त्र आक्रमण गरेको छ, जुन गम्भीर चिन्ताको विषय हो र यसको निन्दा गरिनुपर्छ ।’कोलम्बियाले पनि चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको चार्टर अनुसार कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ । आक्रमणबाट सैन्य संरचनामा कति क्षति भयो र कति मानिस हताहत भए भन्नेबारे अझै स्पष्ट विवरण आएको छैन । आक्रमण भएका स्थानमा बम विष्फोट भएका र धुँवाको मुस्लो देखिन्थ्यो ।

हामी झुक्नेछैनौं ः भेनेजुएला उपराष्ट्रपति

वेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले राष्ट्रपति मादुरो वा प्रथम महिला सिलिया फ्लोरेसबारे कुनै जानकारी नपाएको बताएकी छन् । उनले दुवै जीवित रहेको तत्काल प्रमाण माग गरेकी छन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको बताएका छन् । उनले विदेशी सैनिकको उपस्थितिको विरोध गर्ने चेतावनी दिँदै देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् । स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई ‘वेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘हामीमाथि आक्रमण भयो, तर हामी झुक्ने छैनौं ।’

 



nationalnews7 nationalnews7   
  • January 4, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP