Dark Mode

      Subscribe

इलामका मिठाइको माग काठमाण्डाै र भारतसम्म, घरेलु उद्योगलाई टेवा

598
SHARES
इलामका मिठाइको माग काठमाण्डाै र भारतसम्म, घरेलु उद्योगलाई टेवा

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम शुरू भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘शेड्युल’ हुन्छ । तर घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरू नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।

पर्यटकहरूले दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लाने गरेका छन् । ‘कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्’, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, ‘ललिपप नलिई नआउनु भनेका छन् । ६ हजार रुपैयाँकाे किनिसकेँ, जुन हेर्‍याे, त्यहीँ लैजानुजस्तो छ ।’

कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया ५ देखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । ‘हिजो ९ हजार रुपैयाँकाे बिक्री भयो । कुनै दिन ४ हजार रुपैयाँकाे मात्रै बिक्छ । सिजन शुरू हुँदैछ । पोहोर त सिजनमा दिनकै ३० हजार रुपैयाँसम्म बेचेको’, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।

यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीयवासी बताउँछन् । ‘इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ’, स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, ‘फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली वस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।’

काठमाण्डाैमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाण्डाै आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । ‘छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्’, उहाँले भन्नुभयो, ‘इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।’

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’ का रूपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • March 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP