Dark Mode

      Subscribe

बाटोमा भेटिएको ८१ हजार रूपैयाँ फिर्ता दिए प्रेमबहादुरले

208
SHARES
बाटोमा भेटिएको ८१ हजार रूपैयाँ फिर्ता दिए प्रेमबहादुरले

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट ८१ हजार रुपैयाँ रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उहाँको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाउनुभयो ।

घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा पर्नुभयो । अब हराएको रकम कहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन ।

निरास भएर साँझमा घर फर्किएका उहाँले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो, नत कुनै काममा प्रयोग नै भयो । तनावमा बसेका कुमालका आफन्तले रकम भेटिएको कुरा फेसबुकमा भेट्टाए ।

कुमालको ८१ हजार रुपैयाँ वीरेन्द्रनगरमा बस्दै आउनुभएका लेकबेसी नगरपालिका सुर्खेतका प्रेमबहादुर रास्कोटीले भेट्टाउनुभएको थियो । उहाँले सुरक्षित रुपमा राख्नुभएको यो रकम स्थानीय रेडियो भेरी एफएममा बुझाउनुभयो । अनि रेडियो भेरीका पत्रकार मधुवन वीसीको रोहबरमा रकम कुमाललाई नै फिर्ता बुझाइएको छ ।

पछिल्लो समय समाजमा खराब व्यक्ति मात्रै हुन्छन् भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेमबहादुरले देखाएको इमानदारिताप्रति प्रशंसा भएको छ । उहाँले इमानदारिता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिनुभएको छ ।

रास्कोटीले भन्नुभयो, ‘मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन । त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ । इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ ।’

कुमालले रास्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ‘मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ । यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ ।’त्यो नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो । उहाँले देखाउनुभएको उदाहरणले अन्य व्यक्तिलाई सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ ।



nationalnews7 nationalnews7   
  • January 2, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP